काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लागूपदार्थको गम्भीर समस्यामा फँसिरहेको बताएका छन् ।

शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विशेषगरी मधेस प्रदेश हुँदै सजिलै लागूपदार्थ भित्रिने र बालबालिका–युवाहरू त्यसको चपेटामा पर्ने अवस्था देखिएको बताए ।

“आज नेपाल नै लागूपदार्थबाट पीडित छ। हाम्रा बालबालिका फसाइरहेका छन्,” प्रधानमन्त्री ओलीले भने, “केही पैसाका लागि देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास भइरहेको छ।”

उनले भन्सार राजस्व पूर्ण रूपमा नउठेको र खुला सीमा दुरुपयोग गरेर नाजायज फाइदा उठाउने प्रवृत्ति बढेको भन्दै रोकथामका लागि प्रहरीलाई कडाइ गर्न निर्देशन दिए ।

साथै, निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने प्रवृत्तिबाट सचेत रहन पनि उनले आग्रह गरे ।