एजेन्सी - साउदी अरबले युरोपेली युनियनसहित अन्य १२ वटा मुलकमा यात्रा प्रतिबन्ध लगाएको छ ।

बिहीबार साउदी अरबले युरोपेली युनियनमा आबद्ध मुलुकसहित अन्य १२ वटा मुलुकमा यात्रा प्रतिबन्ध लगाएको हो । साउदी अरबले यसअघि अरब मुलुकसहित १९ वटा देशमा यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

यात्रा प्रतिबन्ध लागेका नयाँ मुलुकमा युरोपेली युनियनमा आबद्ध २७ मुलुक छन् । त्यस्तै भारत,  स्विटजरल्याण्ड, पाकिस्तान, श्रीलंका, फिलिपिन्स, सुडान, इथियोपिया, दक्षिण सुडान, इरिट्रिया, केन्या, जिबुटी र सोमालिया छन् । यीमध्ये अधिकांश मुलुकबाट साउदी अरबमा आप्रवासी कामदार आउने गर्छन् ।

प्रभावित मुलुकमा रहेका नागरिक तथा बासिन्दालाई साउदी अरब फर्कनका लागि ७२ घण्टाको समय दिइएको पनि समाचारमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको त्रासमाझ साउदी अरबले थप मुलुकमा यात्रा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । एक दिनमा नै २४ जनामा संक्रमण देखिएपछि उक्त कदम चालिएको हो । साउदी अरबको सरकारी समाचार माध्यम अनुसार हालसम्म त्यहाँ ४५ जना कोभिड(१९ बाट संक्रमित बनेका छन् ।

यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड- १९ पनि भनिने कोरोना भाइरसलाई ‘विश्व महामारी’ घोषणा गरेको छ ।

डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह पनि गरेको छ ।डब्लुएचओले नियन्त्रण प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्नसमेत आग्रह गरेको छ ।

सुरुमा चीनको वुहानमा देखिएको कोभिड(१९ हाल ११४ वटा मुलुकमा फैलिइसकेको छ । चीन, मध्यपूर्व, युरोप र अमेरिकासहित विभिन्न स्थानमा भाइरसका कारण कैयौंको ज्यान गइसकेको छ ।

पछिल्लो विवरण अनुसार नयाँ भाइरसबाट ४ हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमित हुनेको संख्या १ लाख २६ हजार ३ सय ८० पुगेको छ । साथै ६८ हजार ३ सय १३ जनाको सफलतपूर्वक उपचार भएको छ ।