काठमाडौं -  विगत लामो समयदेखि गुन्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न ‘राते’ भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई बिहीबार राति काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाकाअनुसार उनी यसअघि प्रहरीको ‘इन्काउन्टर’मा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा बसेर गुन्डागर्दीमा सक्रिय थिए ।

पछिल्लो समयमा भने गत वर्ष चैत १८ गतेको एक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

त्यो बेला श्रेष्ठ र सहयोगी ‘रेम्बो’ भनिने अजय गुरुङले काठमाडौं महानगरपालिका–२६, ‘आइओडी’ क्लबअगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन् ।

पीडितको उजुरीका आधारमा खोजी गर्नेक्रममा उनलाई राति पक्राउ गरी थप कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी वृत्त लैनचौर बुझाइएको थापाले जानकारी दिए ।