हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अन्ततः मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका छन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि मुख्यमन्त्रीबाट राजीनामा नदिने अडानमा बसेका लामा पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामाका लागि तयार भएका हुन् ।

सभापति देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि लामा राजीनामा दिने तयार भएको उनी निकटका नेताहरुले जानकारी गराएका छन् ।

उनका अनुसार सभापति देउवाले बिहीबार साँझ आफ्नै निवास बालुवाटार बोलाएर कांग्रेस बागमती संसदीय दलको नेतामा पराजित लामालाई बहुमतमा सरकार चलाउन पर्ने भन्दै मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए।

हिजोसम्म लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।

यसअघि संविधानमा मुख्यमन्त्री बन्न दलको नेता हुनुपर्छ भनेर कतै लेखिएको छैन भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए ।