काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प गरेको बताएका छन् । 

नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावादविरुद्ध लड्ने संकल्प गरेको बताएका हुन् । 

आन्दोलनका उपलब्धीमाथि देशभित्र र बाहिरबाट ठूलै षड्यन्त्र भइरहेको बताउँदै उनले भने, ‘फेरि २/४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिस गरेका छन्, तिनिहरुलाई परास्त गर्न लडाईं लड्ने संकल्प गरेको छु ।’ 

विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनको भनाई छ । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।’ उनले भने । 

त्यसक्रममा पुराना साथी छुटेको पनि उनले बताए । ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटे, अब त्यसलाई सच्याउने प्रतिवद्धता गरेको छु ।’ प्रचण्डले भने । 

मुलुकको राजनीतिक परिस्थिति जटिल र चुनौतिपूर्ण रहेको दाहालको भनाइ छ ।