काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न छानबिन टोली दार्चुला पुगेको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले उक्त घटनाको बारेमा विरोध जनाउँदै सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गरेपछि गृहमन्त्री खाँणले तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजतलास जारी रहेको बताएका हुन् । 

गृहमन्त्री खाँणले घटना लगतै सशस्त्र प्रहरी नायव निरीक्षक बृर्जसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, राष्ट्रिय अनुसन्धान दार्चुलाका विक्रमसिंह भाट सहित ३ जनाको टोली स्थलगत छानबिनका लागि घटनास्थल खटिएको जानकारी दिएका हुन् । ‘तुइन तरेर पारी पुगेका तीन जनासँग जानकारी लिने काम भइरहेको छ ।’ उनले भनेका छन् ।  घटनाबारे निष्कर्षमा पुग्न सरकारद्वारा गठित छानविन समितिको प्रतिवेदन पर्खिनुपर्ने उनकाे भनाई छ । 

भारतको पिथौरागढ जिल्लाका डीएमसँग दार्चुला प्रशासनले पत्राचार गरेको पनि उनले जानकारी दिएका छन् । यही साउन १५ गते दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए ।