आफ्नो पक्षका नेतासँग छलफलमा ओली-प्रचण्ड, स्थायी कमिटी बैठक अन्योलमा
काठमाडौं - भोलि बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अन्योल बनेको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्प कमल दाहाल ‘प्रचण्ड'ले आफ्ना पक्षका नेताहरुसँग छुट्टाछुट्टै भेला गरेसँगै बैठक अन्योल भन्न पुगेको हो ।
दुवै अध्यक्षले आफ्नो पक्षका नेताहरुसँग छलफल गरी भोलि कसरी आफ्नो भनाइ राख्ने भन्ने विषयमा छलफल गरिहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफ्ना पक्षका नेताहरुसँग छलफल गरेका छन् । यस्तै, अर्का अध्यक्ष प्रचण्डले आफ्नो निवास खुमलटारमा वरिष्ठ नेता माधव कुमार नेपालसहित आफ्ना पक्षका ५ जना स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।
यसअघि गत मंगलबार दिउँसो १ बजे बसेको बैठकले बाढी पहिरो पीडितको उद्धार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै साउन १३ गतेसम्म स्थगित गरिएको थियो । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरू भएको थियो । बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित थिएका थिए ।
सोमबार ओली र प्रचण्डबीच छलफल हुने सम्भावना रहेको छ । आपसमा छलफल गर्नुपहिले दुवै अध्यक्षले आफ्ना पक्षका नेताहरुसँग सुझाव लिइरहेका छन् ।
भोलि बस्ने स्थायी कमिटी बैठकमा ओली पक्षले महाधिवेशनको प्रस्ताव राख्ने माहौल बनाउने तयारी गरिहेको छ । यसअघि बसेको सचिवालय बैठकमा अोलीले महाधिवेशनको प्रस्ताव गरेका थिए । यस्तै, प्रचण्ड पक्षले पार्टीको बहुमत तयारी पारी सोहीअनुरुप निष्कर्ष निकाल्न प्रयास गर्ने छ ।
फेसबुक पेज Like गर्नुहोस