काठमाडौं - नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा) ले कोरोना भाइरसद्वारा सिर्जित महामारी र यसको  प्रकृतिलाई  गम्भीरपूर्वक  लिई  सक्रियताका  साथ परिचालित हुन समस्त पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीसमेत  रहेका  नेकपा  अध्यक्ष  केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले  संयुक्त  रूपमा  शुक्रबार  जारी  गरेमो विशेष परिपत्रमा यस्तो निर्देशन दिएका हुन् ।

परिपत्रमा  भनिएको  छ, 'हामी  आफू  कोरोना  भाइरसको सङ्क्रमणबाट जोगिएर र आफ्नो देशलाई जोगाएर  मात्र  यो  महामारी  नियन्त्रण  गर्न  योगदान  दिन  सक्नेछौँ  ।  अभूतपूर्व  एवं  असाधारण  राष्ट्रिय  एकताका  साथ  सम्भावित  बढ्दो  खतराको  सामना  गर्न सम्पूर्ण देशवासी दाजुभाइ तथा दिदी–बहिनीमा हार्दिक आग्रह गर्दछ ।’

नकारात्मक  प्रवृत्ति  कतैबाट  पनि  प्रकट  हुनु  ठीक होइन भन्दै राष्ट्रका सम्मुख बढ्दो खतराको घडीमा आपसी एकता बलियो बनाउँदै सहयोगी हात जुटाउनुपर्नेमा जोड दिइएको छ ।

सङ्कीर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका साथ  सरकारले  गरेका  प्रभावकारी  कामलाई  समेत  आलोचना गर्ने जस्ता कार्य हुनु राम्रो नभएको उल्लेख छ ।  

सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासलाई  स्वयंसेवी  भूमिकाका  साथ  सघाउन  र  अझ प्रभावकारी बनाउन जरुरी छ भन्दै परिपत्रमा अर्को निर्देशन नआए सम्मका लागि पार्टी तथा पार्टी निकटका  जनवर्गीय  सङ्गठनका  तर्फबाट  बैठक,  भेला,  सदस्यता  नवीकरण  लगायत  सबै  प्रकारका  कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको छ । 

गोरखापत्र दैनिकबाट