डाक्टर केसीका माग पूरा गर्न प्रधानमन्त्री ओलीलाई देउवाको अपिल
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डाक्टर गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।
आइतबार सार्वजनिक अपिल जारी गर्दै देउवाले डाक्टर केसी अनसन बसेको २१ दिन हुँदा पनि सरकारले माग पूरा गर्न गम्भीरता प्रस्तुत नगर्नु दुस्खद भएको उल्लेख गरेका छन्।
‘डा- केसीको अनसन २१ दिन पुगेर उहाँको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर छ,’ देउवाले भनेका छन्।
डाक्टर केसीले राखेका माग केवल एक जना व्यक्तिको माग नभएको पनि देउवाको भनाइ छ। ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरूद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरू केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन्,’ देउवाले भने।
सरकार डाक्टर केसीका मागप्रति उदासिन देखिएको पनि देउवाको भनाइ छ।
‘जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो। तर सरकारले शुरूवातमा डा। केसीप्रति दुव्र्यवहारपूर्ण व्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ,’ देउवाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
चिकित्सा शिक्षा क्षेत्रमा विसंगति बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले डा। केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको पनि देउवाको भनाइ छ।
‘कार्यदलको सुझाव बमोजिम सुधारका विविध कार्य अघि बढाएको थियो। डा। केसीका मागहरू पूरा गर्दै मेरो नेतृत्वमा रहेको अघिल्लो सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश” ०७४ कार्तिक २४ मा जारी गरेको थियो। तर वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो,’ देउवाले भनेका छन्। सरकारले केसीसँग गरेका सम्झौता उलंघन गरेको पनि देउवाको भनाइ छ।
‘वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा। केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो। अतः फेरि पनि संवादमार्फत् समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु,’ उनले भनेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस