स्थानीय निर्वाचन अघि सबै दल महाधिवेशनमा केन्द्रीत
काठमाडौं - आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रीत भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यही १८ भदौबाट वडा अधिवेशन सुरू भइसकेको छ । कांग्रेसको १४औँ महाधिवेशन ९ देखि १३ गतेसम्म हुने भएको छ । कांग्रेसको महाधिवेशनमा होमिसक्दा अरु दलहरु पनि तयारी अवस्थामा छ ।
नेकपा एमालेले पनि आउँदो मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । ‘आउँदा १० देखि १३ मंसिरमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरिसकेको छ’, एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । उनकाअनुसार सोही मितिमा महाधिवेशन गर्ने गरी तयारी थालिएको छ ।
कांग्रेसको महाधिवेशन सकिने दिन नै एमालेको १०औँ महाधिवेशन सुरू हुनेछ । कांग्रेस र एमालेभन्दा अगाडि कात्तिकमा राप्रपाको महाधिवेशन हुने छ । राप्रपाले २३ देखि ३० कात्तिकमा महाधिवेशन निर्णय गरेको छ । ‘२३ देखि ३० कात्तिकमा पार्टीको महाधिवेशन गर्न पार्टीले निर्णय गरिसकेको छ । यसको तयारी भइरहेको छ’, राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेलाको आयोजना गरेको छ । महाधिवेशनमा जानु अघि माओवादीले राष्ट्रय भेलाको आयोजना गरेको हो । उसले पुसमा राष्ट्रिय भेला गर्ने गरी तयारी गरिरहेको छ ।
‘१०देखि १३ पुसमा राष्ट्रिय भेला आयोजना गर्ने पार्टीले निर्देशन गरिसकेको छ’, माओवादी नेतृ पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय भेला गर्ने गरी अहिले तयारी भइरहेको छ ।’
एमालेबाट अलग भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पनि राष्ट्रिय भेलाको तयारी गरेको छ । यही ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको समाजवादीले राष्ट्रिय भेलामार्फत पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने भएको छ । तर, भेलाको मिति भने तय भइसकेको छैन ।
जनता समाजवादी पार्टी, नेपालको पनि आउँदो मंसिरमा विधान अधिवेशन हुने भएको छ । विधान अधिवेशनपछि महाधिवेशनकाबारे छलफल हुने जसपा नेता सुरेन्द्रकुमार यादवले जानकारी दिए । ‘आउँदो मंसिरमा विधान अधिवेशन हुँदैछ । त्यसपछि महाधिवेशनको विषयमा कुरा होला’, उनले भने ।
जसपाबाट अलग भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल महाधिवेशनमा नजाने भएको छ । ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको लोसपा तत्काल महाधिवेशनमा नजाने भएको हो । ‘हामी (लोसपा) भर्खरै आयोगमा दर्ता भएका हौँ’, लोसपा नेता केशव झाले भने, ‘पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्ने बाध्यकारी छैन । यसबारे पार्टीमा छलफल पनि भएको छैन ।’
आउँदो कात्तिकमा राप्रपाको महाधिवेशनबाट सुरू हुने राजनीतिक सरगर्मीले मंसिर निकै तताउने देखिन्छ । कांग्रेसको १४औँ महाधिवेशन, एमालेको १०औँ महाधिवेशन र जसपाको विधान अधिवेशनले मंसिर राजनीतिक तापचापमा पर्ने देखिन्छ ।
फेसबुक पेज Like गर्नुहोस