काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा सबै बासिन्दाको परीक्षण गरिने भएको छ । वुहान सहरले १ करोड १० लाख बासिन्दाको परीक्षण गर्ने योजनाको तयार पारेको हो ।

वुहानमा पछिल्लो समय कोभिड–१९ का संक्रमित देखिन थालेपछि परीक्षण विस्तार गर्न लागिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड १९ देखिएपछि वुहान ११ सातासम्म कडा लकडाउनको अवस्थामा थियो ।

अधिकारीहरूले भाइरस पूर्णरूपमा नियन्त्रणमा आएको भन्दै अप्रिल ८ मा लकडाउन खुला गरेका थिए । त्यसयता वुहानमा शिक्षण संस्था, व्यापार व्यवसाय तथा सार्वजनिक यातायात खुलेपछि जनजीवन सामान्य हुँदै आएको थियो ।

तर एउटै आवासीय क्षेत्रमा पुनः सामूहिक संक्रमण भेटिएपछि अवस्था सामान्य नहुने चिन्ता व्यक्त भएको छ । प्रारम्भिक चरणमा रहेको योजनाअन्तर्गत नै रहेको बुझिएको छ । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार वुहानभरि १० दिनभित्र परीक्षण गरिसक्ने बताइएको छ ।

‘द पेपर’ नामक पत्रिकाले आन्तरिक दस्तावेजलाई उल्लेख गर्दै वुहानका प्रत्येक जिल्लालाई मंगलबारसम्म १० दिने परीक्षण योजना तयार पार्न भनिएको थियो । ती जिल्लाका अधिकारीलाई जनसंख्या र संक्रकमणको आशंकाका आधारमा कार्ययोजना तयार पार्न निर्देशन दिइएको हो । दस्तावेजमा बढी जनसंख्या भएको क्षेत्र तथा बढी उमेरका बासिन्दालाई परीक्षणका लागि पहिलो प्राथमिकता दिन भनिएको छ ।

तर ग्लोबल टाइम्स समाचारपत्रले वरिष्ठ स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै त्यसरी सहरभरिका सम्पूर्ण बासिन्दाको परीक्षण गर्नु खर्चिलो हुनुका साथै असम्भवजस्तो देखिएको उल्लेख गरेको छ ।

वुहान विश्वविद्यालयको झोंगनान अस्पतालको सघन उपचार एकाइका निर्देशक पेङ झियोङले त्यस्तो परीक्षण सहरभरिका बासिन्दाको साटो स्वास्थ्य कर्मचारी, जोखिममा रहेका मानिस र संक्रमितसँग प्रत्यक्ष सम्पर्कका आएकालाई लक्षित गर्नुपर्ने बताए । वुहान विश्वविद्यालयका अर्का निर्देशकले सहरको जनसंख्यामध्ये ३० देखि ५० लाखको परीक्षण भइसकेको छ र वुहान बाँकी ६० देखि ८० लाखलाई १० दिनमा परीक्षण गर्न सक्षम रहेको जनाए । अमेरिकाले हाल दैनिक ३ लाख मानिसका परीक्षण गरिरहेको छ । ह्वाइटहाउसका अनुसार अमेरिकामा ९० लाखभन्दा बढी मानिसको परीक्षण गरिसकिएको छ ।

चिनियाँ सामाजिक सञ्जाल वेइबोका प्रयोगकर्ताहरूले केही दिनभित्र सम्पूर्ण बासिन्दाको परीक्षण कसरी सम्भव हुन्छ भन्दै विभिन्न प्रश्नहरू उठाएका छन् । ‘त्यति धेरै मानिसको परीक्षण गर्न असम्भव छ,’ एकजना टिप्पणीकारले भनेका छन् । उनले यसका लागि लाग्ने खर्चबारे पनि प्रश्न उठाएका छन् । अर्का टिप्पणीकर्ताले वुहानको लकडाउन हटाउनुअघि नै त्यस्तो परीक्षण हुनुपर्ने बताएका छन् ।

चीनमा सोमबार एक जना मात्र नयाँ संक्रमित थपिएका थिए । कोभिड १९ का कारण चीनमा हालसम्म ४ हजार ६ सय ३७ जनाको ज्यान गएको छ ८४ हजार ११ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

कान्तिपुर दैनिकबाट