रियाद - इजिप्टमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खसोग्गीका छोराहरुले बाबुका हत्याराहरुलाई क्षमादान दिएको बताएका छन्। 

अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार तथा साउदी राजतन्त्रका आलोचक समेत रहेका खसोग्गीका छोराहरुले ट्विट गरी बाबुका हत्यारालाई माफी दिएको बताएका हुन्। 'जमाल खसोग्गीका हामी छोराहरु हाम्रा बाबुको हत्यामा संलग्नहरुलाई माफी र क्षमादान दिएको घोषणा गर्दछौं,' ट्विटलाई उद्धृत गर्दै एएफपीले लेखेको छ। 

साउदी अरेबियामा बस्दै आएका जमालका छोरा सलाहको घोषणाको कानुनी वैधानिकता के हुने भन्नेमा स्पष्ट भइसकेको छैन। पत्रकार खसोग्गीको टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलेटमा अक्टोबर २, २०१८ मा बिभत्स हत्या गरिएको थियो। 

टर्की सरकारको भनाईमा साउदी अरेबियाका राजकुमार सल्मानद्वारा पठाइएका १५ जना गुप्तचरले जमाल खसोग्गीको हत्या गरेका थिए। हत्यापश्चात जमालको शरीर टुक्राटुक्रा पारेर फालिएको थियो।

साउदीमा उक्त हत्याकाण्डमा संलग्न ११ जनालाई दोषी देखाइएको थियो जसमध्ये ५ जनालाई मृत्युदण्डको सिफारिस गरिएको छ। तीन जनालाई आजीवन कारावासको सजाय सुनाउनुका साथै अरुलाई छाडिएको छ।