गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त
काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।
विवादकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेसका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
२७ गते भएको निर्वाचनमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउँसो ३ः०० बजेसम्मको समय तोकेर प्रदेशसभा सदस्यलाई आह्वान गरेकी थिइन् । शुक्रबार नै नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले ३१ जना सांसदको बहुमत हस्ताक्षरसहितको दाबी पत्र बुझाएको थियो ।
तर, गुरूङले पनि राष्ट्रिय जनमोर्चाले कारवाही गरिसकेका सांसद कृष्ण थापा र जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटीको समर्थन रहेको पत्रसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेपछि विपक्षी गठबन्धनले आज प्रदेश प्रमुख पौडेलको निवास अगाडि विपक्षी गठबन्धनका धर्ना दिएका थिए । पोखरेलले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका थिए । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५/६ पटक जेल परेका छन् । ७१ वर्षीय नेता पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई पराजित गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस