काठमाडौं - काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गर्न लुकाएर राखिएका १० लाख थान मास्क प्रहरीले बरामद गरेको छ।

काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सतुुंगल, कपनलगायत स्थानबाट कालोबजारी गर्न लागिएका मास्क बरामद गरिएको हो।

आइतबार साँझ चन्द्रागिरी नगरपालिका १० सतुंगलको विष्णुदेवी गोदाम प्रहरीले सिल गरेको थियो। त्यहाँबाट सोमबार बिहान ८ लाख थानभन्दा बढी मास्क बरामद भएको डीएसपी बोगटीले बताए।

ती मास्क प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाउने तयारी गरिरिहेको छ। यस्तै कपनको मिलनचोकबाट १ लाख ६८ थान मास्क बरामद गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए।

कालोबजारी गरी लुकाएर राखिएको अवस्थामा मास्क बरामद गरिएको प्रहरीले जनाएको छ। मास्क कालोबजारी गर्ने ६ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ। ३१ रुपैयाँमा डिल गरेर बेच्न लागेको अवस्थामा गाडीसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

यसअघि प्रहरीले शनिबार ७८ हजार मास्कसहित ८ जना पक्राउ गरेको थियो। कोरोना भाइरसको सन्त्रास फैलिएयता मास्कको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने क्रम सुरु भएको हो।