काठमाडौं- विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुनलागेको हो ।सर्वोच्च अदालतले २१ फागुनको सुनुवाइका दिन आजको मिति तोकेर मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो। आज अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरुले नै निरन्तर बहस गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो ।अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइविना उनीहरुको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा, नहकुल सुवेदीको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ गरिरहेको छ ।