क्वारेन्टाइनमै जन्मिए जुम्ल्याहा
काठमाडौं - तुुलसीपुरमा क्वारेन्टाइनमा रहेकी एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छन् ।
तुलसीपुर उपमहानगरपालिका–१३, फूलबारीकी अनिता यादवले शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जुम्ल्याहा छोरी जन्माएकी हुन् ।चार महिनादेखि भारतको रुपैडिहा बिलौनीस्थित माइतीघरमा रहेकी यादव गाडी र पैदल यात्रा गर्दै बिहीबार घर आइपुगेकी थिइन् ।
भारतबाट आएको भनेर गाउँलेहरूले खबर गरेपछि सोही दिन उनलाई उपमहानगरको रक्षाचौरस्थित क्वारेन्टाइनमा राखिएको तुलसीपुरका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । उनको र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । न्यौपानेका अनुसार यादवलाई शुक्रबार दिउँसो १२ बजेतिर सुत्केरी व्यथा लागेपछि प्रादेशिक अस्पताल लगिएको हो ।
प्रादेशिक अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीका अनुसार यादवले १.८ र १.५ केजीका शिशुहरूलाई जन्म दिएकी छन् । दुवै शिशुको वजन कम भएकाले उनीहरूलाई तुलसी अस्पतालको एनआईसीयूमा राखिएको बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बताए ।
सुत्केरी हुँदा यादवका श्रीमान् र परिवार कोही पनि सहयोग गर्न नआएपछि उपमहानगरले उनको हेरचाह र खर्चलगायत सबै जिम्मेवारी लिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । यादवका यसअघि दुई छोरा र दुई छोरी छन् ।
कान्तिपुर दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस