आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा के छ ?
काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गर्दै सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिका अनुसार चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने प्रक्षेपण गरिएको छ । बजारमा तरलता कम हुँदै गएकोले कर्जाको व्याज बढ्न सक्ने बताइएको छ ।
चालु आर्थिक वर्षमा मूल्यवृद्धिदर ६.५ प्रतिशत कायम गर्ने लक्ष्य राष्ट्र बैंकको छ ।
यस्तै, विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा एक प्रतिशत थप ब्याज दिइने भएको छ । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बचत गरेमा थप ब्याज दिने व्यवस्था गरिएको हो ।
वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात क्रमशः १० प्रतिशत, ८ प्रतिशत, ७ प्रतिशत यथावत राखिएको छ । वाणिज्य बैंकबाहेक राष्ट्रिय स्तरका विकास बैंक र वित्तीय संस्थाको चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । कृषि र उर्जा क्षेत्रको विकासका लागि कृषि र ऊर्जासम्बन्धी ऋणपत्रको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस