काठमाडौं जिल्लामा समानान्तर कमिटी घोषणा गर्दै खनाल-नेपाल पक्ष
काठमाडाैं - नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले काठमाडौंमा समानान्तर जिल्ला कमिटी गठनको तयारी गरेको छ । त्यसका लागि आइतवार कार्यकर्ताका विशेष भेला बोलाइएको छ ।
काठमाडौंको बुद्ध नगरस्थित एक पार्टी प्यालेसमा आयोजित भेलामार्फत समानान्तर कमिटी गठनको तयारी भएको नेपाल पक्षीय एक केन्द्रीय सदस्यले जानकारी दिए ।
खनाल नेपाल पक्षले यसअघि कास्की, तनहुँ, लमजुङलगायतका जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ । सर्वोच्च अदालतले नेकपा एकता भंग गरिदिएपछि पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउन भन्दै नेपाल पक्षले पार्टीभित्र संघर्ष चर्काएको छ ।
गुटगत गतिविधि गरेको भन्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित सो पक्षका ४ जना नेतालाई निलम्बन गरेपनि उनीहरुले समानान्तर गतिविधि रोकेका छैनन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस