काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो नाता वा सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग नगरेको दाबी गरेका छन्। 

आफ्नो नाता सम्बन्धका व्यक्तिले लाभको पद लिएर कानुनी व्यवस्थाको उल्लंघन नगरेको उनको दाबी छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्री पोखरेलले त्यस्ता समाचारमा सत्यता नभएको दाबी गरेका हुन्। 

‘केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमले समाचार सम्प्रेषण गरेका छन्। ती समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री पोखरेलले भनेका छन्, ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन।’