गाउँलेको कुटाईबाट एकको मृत्यु, ६ बेपत्ता
जाजरकोट - रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमो जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक रहेका छन् । नवराजसँग गएका ६ जना युवाहरु अझै बेपता रहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।
नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको र ती युवतीले बोलाएपछि नवराजले १९ जना युवाहरु लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती गएका थिए। केटाहरु आएको खबर ती युवतीको आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवाहरुलाई कुटपिट गर्दा नवराजको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।
गाउँहरुले लखेट्दा अन्य ६ जना बेपता रहेको उनको भनाइ छ। नवराज ती युवतीबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले उनीहरुबीच विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरी समेत दिएको श्रेष्ठले जानकारी दिए। उजुरी दिएपछि दुवै समूहबीचमा छलफल समेत भएको थियो।
फेसबुक पेज Like गर्नुहोस