प्रधानमन्त्री ओलीको सपथ दिउँसो साढे २ बजे, आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने
काठमाडौं - तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
अल्पमतको प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री ओलीको सपथ ग्रहण कार्यक्रम आज दिउँसो साढे २ बजेलाई शीतल निवासमा तय भएको स्रोतले बताएको छ । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।
यस्तै, आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ । प्रधानमन्त्री ओलीले आफूसँगै केही मन्त्रीलाई पनि सपथ खुवाउन सक्नेछन् । मन्त्रीहरूलाई पनि राष्ट्रपतिले नै सपथ खुवाउने संवैधानिक व्यवस्था रहेकोले ओलीकै सपथ कार्यक्रममा अरू मन्त्रीहरूले पनि सपथ लिने सम्भावना रहेको हो ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएपछि ओली स्वतः पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन दिएको ३ दिनको समय आज राति ९ बजेसम्म तोकेकी थिइन् । तर, नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रपछि हटेपछि ठूलो दलको हैसियतमा ओली पुनः संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । त्यसपछि बिहीबार राति राष्ट्रपति भण्डारीले पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
ओलीले अबको एक महिनामा फेरि संसदमा विश्वासको मत लिनुपर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस