काठमाडौं - नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजै मध्यरातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले घटाइएको छ । हाललाई पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।

भारतबाट मूल्यसूची घटेर आएकाले सोही अनुसार आन्तरिक बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।