काठमाडौं, सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्।

प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।

बिहिबार नेकपा माओवादी केन्द्रले प्रदेश सरकारलाई विश्वासको मत दिन आग्रह गरेको छ । माओवादी केन्द्रकी प्रमुख सचेतक सीताकुमारी नेपालीले एक अपिल जारी गर्दै केही व्यक्तिको सत्ता स्वार्थका कारण एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोसमेत आरोप लगाइन् । 

कर्णालीमा संसद्को अंकगणित हेर्दा मुख्यमन्त्री शाहीका लागि अनुकूल छैन । ४० सदस्सीय प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्छ । तर, एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुन्छ ।

एमालेको माधव नेपाल पक्षको साथ पाउने माओवादी केन्द्रको आश देखिन्छ । यसअघि माधव नेपाल पक्षका सांसदले साथ दिएकै कारण मुख्यमन्त्रीको पद जोगिएको थियो । अहिले त्यो सम्भावना न्यून छ । किनभने दलसम्बन्धी ऐनमा कुनै पनि सांसदले दलको ह्विप तोडेर विपक्षी गठवन्धनमा गए उसको पद नै जाने व्यवस्था छ । त्यसैले नेपाल पक्षले आफ्नो पद धरापमा पारेर शाही नेतृत्वको सरकारलाई टेको दिने सम्भावना देखिंदैन ।