काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको आन्तरिक विवाद समाधानको लागि पहल गर्न उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार साँझ उपाध्यक्ष गौतमलाई शितल निवासमा बोलाएर नेकपाभित्र पछिल्लोसमय गहिरिँदै गएको आन्तरिक संकट र पार्टी एकताबारे चिन्ता व्यक्त गरेकी हुन् । 

एकता जोगाउन पहिला देखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई अब पनि त्यस्तै भूमिकाको अपेक्षा गरेको बताएको स्रोतले बताएको छ । जवाफमा वामदेवले आफू दत्तचित्त भएर पार्टी एकताका लागि पहल गर्ने बताएका थिए ।

नेकपाभित्र विवाद चर्किएका बेला राष्ट्रपति भण्डारी र गौतमको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपले हेरिएको छ ।