काठमाडौं - काठमाडौ कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले पेप्सी ब्रम्हखेल सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै  सडक डिभिजन कार्यालय काठमाडौंलाई पत्र पठाउनुभएको छ ।

२०८० चैत्र ६ गते नगर प्रमुख उपेन्द्र कार्की, उपमेयर शान्ता थापा र वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डे सहितको टोलीले पेप्सी  ब्रम्हखेल सडक अनुगमन गर्नुभएको थियो । उक्त अनुगमनको क्रममा नगर प्रमुख कार्कीले सडक निर्माण कार्य तीव्र गतिमा अघि बढाउन सडक डिभिजन कार्यालय काठमाडौंलाई पत्र पठाउने प्रतिबद्धता जनाउनुभएको थियो । कार्कीले आफुले गरेको प्रतिबद्धतालाई पूरा गर्नुभएको छ।

पत्रमा भनिएको छ, पेप्सी ब्रम्ह्खेल सडकमा विगत केही समयदेखि निर्माण व्यवसायीले निर्माण कार्यमा ढिलासुस्ती गरेको र हाल भइरहेको सडक निर्माण कार्य पनि सन्तोषजनक रुपले अगाडि नबढेको साथै वर्षात नजिकिदै गर्दा आवतजावतमा पर्न सक्ने समस्यालाई समेत ध्यानमा राखी बर्षातको समय अगाडि नै निर्माण सम्पन्न गर्न र तत्काल निर्माण व्यवसायीलाई सडक डिभिजन कार्यालयबाट निर्देशन दिन समेत अनुरोध गर्दै सडक निर्माणको क्रममा आवश्यक समन्वय र सहजीकरणको लागि नगरपालिका सधैं तयार रहेको नगरपालिकाले पठाएको पत्रमा उल्लेख छ।

पछिल्लो समय नगर प्रमुख कार्कीले विकास निर्माणको कार्यमा निकै  तदारुकताका साथ काम अगाडि बढाइराख्नु भएको छ भने नगर प्रमुख कार्कीको तदारुक्ताले वर्षौंदेखि अलपत्र परेको सडक यस वर्ष  पूर्ण रूपमा सम्पन्न हुनसक्ने सम्भावना देखिएको छ ।

नगरपालिकाको पत्रपछि खबर एक्सप्रेससँग सडक डिभिजन कार्यालय काठमार्डौका एक उच्च अधिकारीले संक्षिप्त कुराकानी गर्दै नगरपालिकाको भूमिका अत्यन्तै सकारात्मक रहेको र आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहने बताउनुभयो।