उपत्यकाभित्र थप एक साता निषेधाज्ञा, खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न अनुमति
काठमाडौं - उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । यसपटक पहिलेको भन्दा केही प्रावधान खुकुलो पारिएको छ ।
उपत्यकामा असार १ गतेबाट मास्क लगाएर हिँडडुल गर्न पाइने भएको छ । यसबाहेक ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई ११ बजेसम्म खोल्न दिइने छ ।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् ।
अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । बैङ्क तथा वित्तीय संस्था, सरकारी कार्यालय लगायत अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको निजी सवारी साधनको आवतजावतमा समेत सहजीकरण हुने गरी निर्णय भएको छ ।
जारी निषेधाज्ञाको अवधि भोली राति १२ बजे सकिँदैछ । उपत्यकामा वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस