कुलमानले सार्वजनिक गरे चुनावी बाचापत्र, २०३० सम्म वार्षिक ९.५ आर्थिक वृद्धि गर्ने
काठमाडौं - उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो बाचापत्र सार्वजनिक गरेको छ ।
‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मूल नारासहित सार्वजनिक आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राख्दै तयार पारिएको प्रतिबद्धता(-कार्यान्वयनयोग्य र परिणाममुखी भएको दाबी गरेको छ।
पार्टीका अनुसार संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउँदै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ। सार्वजनिक सेवा समयमै पाउने अधिकारलाई मौलिक हकका रूपमा स्थापित गर्ने, प्रशासनलाई डिजिटल र पारदर्शी बनाउने तथा सार्वजनिक पदाधिकारीको वार्षिक सम्पत्ति विवरण अनलाइन सार्वजनिक गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
शासन खर्च घटाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य संख्या ५५० बाट ३३० मा झार्ने, संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ वटामा सीमित गर्ने तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने प्रस्ताव पनि अघि सारिएको छ । प्रदेशमा स्थायित्वका लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गर्ने अवधारणा पनि समेटिएको छ।
आर्थिक समृद्धिका लागि पार्टीले २०३० सम्म कुल गार्हस्थ्य उत्पादन ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब डलर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । सोही अवधिमा निर्यात २० अर्ब डलरसम्म पुर्याउने, वार्षिक ९ देखि १५ लाखसम्म रोजगारी सिर्जना गर्ने तथा २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।
ऊर्जा क्षेत्रमा २०३० सम्म १२ हजार मेगावाट र २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरिएको छ। उत्पादित विद्युत भारत, बंगलादेश र चीनमा निर्यात गरी वार्षिक ५ अर्ब डलर राजस्व आर्जन गर्ने दाबी गरिएको छ। साथै जलविद्युत, जडीबुटी, सिमेन्ट, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकता प्राप्त क्षेत्रका रूपमा विकास गरिने बताइएको छ।
कृषि क्षेत्रमा डिजिटल आईडीमार्फत अनुदान वितरण, ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक क्षेत्रमा रूपान्तरण, सिँचाइका लागि निःशुल्क विद्युत उपलब्ध गराउने तथा युवा किसानलाई सहुलियत ऋण दिने योजना अघि सारिएको छ। पर्यटन क्षेत्रलाई धार्मिक, सांस्कृतिक, साहसिक तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा विकास गरी वार्षिक १० अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखिएको छ।
साथै सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस