काठमाडौं - एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच आज पनि वार्ता हुँदै छ । वार्ता प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे हुनेछ । 

बिहिबार सत्ता साझेदारी गर्ने विषयमा भएको छलफलमा एमाले  ‘सकारात्मक’ देखिएपछि आज निर्णायक वार्ता हुन लागेको जसपाका एक शिर्ष नेताले जानकारी दिए । 

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको थियो । जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरी एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेताहरूसँगको वार्तामा तीनबुँदे प्रस्ताव राखिएको जसपा नेता अशोक राईले बताए। ‘हामीले तीनबुँदे प्रस्ताव राख्यौं, सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कुरा गर्‍यौं’, नेता राईले भने, ‘प्रधानमन्त्रीले हाम्रा मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ।’

जसपाका नेताहरूले विगतमा पनि आफ्ना मागका विषयमा पटक–पटकका छलफलमा सरकारको तर्फबाट जवाफ सकारात्मक आउने तर कार्यान्वयन नभएको प्रसंग उठाएका थिए। त्यसपछि उनीहरूले आफ्ना मागप्रति सरकारको प्रस्ट धारणा र कार्यान्वयनको खाका आउनुपर्ने बताएका थिए।