मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट खनाल-नेपाल पक्षका सांसदद्वारा हस्ताक्षर फिर्ता
काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका एमालेका प्रदेशसभा सदस्यले सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिएका छन् ।
मंगलबार एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेलगत्तै विभाजित भएको एकिकृत नेकपाको खनाल-नेपाल र प्रचण्ड पक्षले पुस १२ गते मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताएपछि उनीहरुले अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका हुन् ।
अविश्वास्को प्रस्तावमा माधव नेपाल पक्षका २१ र १६ प्रचण्ड पक्षका सांसदले हस्ताक्षर गरेका थिए । योसँगै मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । ९३ सदस्य रहेको प्रदेशसभामा सरकार निर्माणका लागि ४६ सांसद भए पर्याप्त हुन्छ ।
फेसबुक पेज Like गर्नुहोस