काठमाडौं,सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।

आजको बैठकमा राप्रपाले तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । १ सांसद रहेको राप्रपाले अन्तिम समयमा तटस्थ बस्ने निर्णय गरेपछि मुख्यमन्त्री शाहीलाई झट्का लागेको छ । अहिलेकै परिस्थितिमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने प्रस्ट भैसकेको छ । 

४० सदस्सीय प्रदेशसभामा एमाले प्रवेश गरेका माओवादीका धर्मराज रेग्मी निलम्बित छन् । बाँकी ३९ मध्ये एमाले एक्लैको २० सांसद छन् । माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । मुख्यमन्त्री शाहीलाई सरकार जोगाउन २० सांसदको साथ चाहिन्छ । तर, एमालेबाहेक सबै एकातिर मिल्दा पनि १९ जना मात्र हुन्छ ।

आजै दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।