काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की सहितको टोलीद्वारा पेप्सीकोला मूलपानी ब्रम्हखेल सडकको निरीक्षण गर्नुभएको छ ।

लामो समय बितिसक्दा पनि निर्माण कम्पनीको बदमासीको कारण समयमा निर्माण सम्पन्न हुन नसकेको पेप्सीकोला मूलपानी ब्रम्हखेल सडक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की , उपमेयर शान्ता थापा र वडा नम्बर ५ का अध्यक्ष शंकर पाण्डे सहितको टोलीले अनुगमन गर्नुभएको हो ।

अनुगमनको क्रममा नगरप्रमुख कार्कीले वडा नम्बर पाँच गजर्कोटमा करीब एक सय ५० मिटर भागमा जग्गा धनीको अवरोधको कारण निर्माण कम्पनीले काम रोकेको थियो । उक्त स्थानमा कुनै समस्या नरहेको र विकास निर्माणको कार्यमा कसैले पनि बाधा पुर्‍याउनु नहुने र स्थानीयसँग मिलेर काम गर्ने नगर प्रमुख कार्कीले बताउनुभयो । विकास निर्माणको कार्यमा कसैले पनि अवरोध गरेमा नगरपालिका चुप लागेर नबस्ने बताउँदै नगर प्रमुख कार्कीले उक्त स्थानमा काम अघि बढाउन डिभिजन सडक कार्यालय काठमाडौँलाई पत्राचार गर्ने प्रतिबद्धता जनाउनुभयो भने डिभिजन सडक कार्यालय काठमाडौँका इन्जिनियर भूपेन्द्र बडालले नगरपालिकाबाट पत्र प्राप्त भए निर्माण कम्पनीलाई काम अघि बढाउन निर्देशन दिने बताउनुभयो ।

अनुगमनकै क्रममा वडा अध्यक्ष शंकर पाण्डेले वडा कार्यलयले गर्नुपर्ने कुराहरूमा कुनै कमी नराख्ने बताउनुभयो भने नगर प्रमुख कार्कीको प्रतिबद्धता स्वागतयोग्य रहेको र सडक निर्माणमा भएको ढिला सुस्तीको विषयमा नगर प्रमुख कार्की र वडा अध्यक्ष पाण्डेले सक्रियता बढाएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।