बालेन र केपीको क्षेत्रमा सेना, सशस्त्र र प्रहरीको संयुक्त गस्ती
काठमाडौं - फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा चर्चामा रहेको झापा–५ मा संयुक्त गस्ती सुरु भएको छ ।
आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु भएको हो सुरक्षा निकायले जानकारी गराएको छ ।
कुनै अप्रिय घटना नघटोस्, निर्वाचन सुरक्षामा कुनै आँच नआओस् र कुनै आपराधिक क्रियाकलाप नहोस् भनेर आवश्यकता अनुसार सङ्ख्या निर्धारण गरी विभिन्न ठाउँमा गस्ती भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएका बालेन्द्र साह ‘बालेन’ झापा–५ मा चुनावी मैदानमा छन् । अन्य प्रतिस्पर्धी भए पनि उक्त क्षेत्रमा ओली र बालेनको मात्रै चर्चा चल्ने गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बालेन पूर्वप्रधानमन्त्रीसँग चुनाव लड्ने भन्दै झापा पुगेका थिए । सामाजिक सञ्जालमा बालेनको जीत सुनिश्चित भन्दै पोष्टहरु आइरहेका छन् भने ओली भित्री रुपमा मतदाताहरुसँग नजिकिएर भोट मागिरहेका छन् । त्यसैले त्यहाँ कसको जीत सुनिश्चित छ भनेर भनिहाल्न सक्ने अवस्था नभएको झापाकै स्थानीयहरु बताउँछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस