काठमाडौं - नेपाली कामदारलाई विभिन्न प्रकारका लाभहरु सुनिश्चित गर्ने नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ । उक्त समझदारीमा कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय समावेश गरिएको छ ।

दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको सोमबार काठमाडौंमा बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो । बैठकमा समझदारीलाई व्यवस्थित ढङ्गले कार्यान्वयनमा ल्याउन दुवै पक्षबीच सहमति भएको छ ।

मन्त्रालयले कामदारको सम्पूर्ण खर्च रोजगारदताले व्यहोर्ने विषय समझदारीमा नै स्पष्ट पारिएको उल्लेख गर्दै अब उप्रान्त कामदारसँग कुनै पनि शुल्क नलिन ‘म्यानपावर’ व्यवसायीलाई आग्रह गरेको छ ।

के के प्रावधान हुनेछन् समझदारीमा ?

समझदारीमा कामदारको भर्ना प्रक्रियाका चरणलाई स्पष्ट पारिएको छ । युएई कामदार पठाउँदा लाग्ने सेवा शुल्क दुईतर्फी हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण शुल्कलगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।

घरेलु कामदारसम्बन्धी ‘प्रोटोकल’को मस्यौदामा घरेलु कामदारका विशेष सुरक्षा व्यवस्था र थप हकहितका विषयलाई समेटिने ।

युएईमा घरेलु कामदारको हकहित र संरक्षणको विषय समेटी घरेलु कामदारसम्बन्धी नयाँ कानून लागू भएको छ । घरेलु कामदार आपूर्ति गर्न युएई सरकारले सरकारको प्रत्यक्ष निगरानी तथा सार्वजनिक निजी साझेदारीको अवधारणामा ‘ताड–वियर सेन्टर’ स्थापना गरेको छ । उक्त सेन्टरबाट मात्र घरेलु कामदार आपूर्ति हुने एवं यसले घरेलु कामदारको संरक्षणका सबै विषय जिम्मा लिने ।

श्रम समझदारीलाई प्रभावकारी ढङ्गले अघि बढाउन दैनिक आउने सवाललाई थप सहज ढङ्गले समाधान गर्न दुवै सरकारका सम्पर्क विन्दु तोकिएको छ ।

श्रमिकलाई शून्य लागतको प्रावधान । कामदारको भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने ।

कामदारले रोजगारदातासँग भएको सहमति कार्यान्वयन नभएमा कामदारले रोजगारदाता परिवर्तन गर्न पाउने ।

पारिश्रमिक, अतिरिक्त समय, सुरक्षित कार्य वातावरण तथा न्यायमा सहज पहुँच सुनिश्चित  ।

गुनासो सुनुवाइलगायत विषयमा अन्य विदेशी कामदार सरह समान व्यवहार ।

महिला कामदारको सुरक्षामा विशेष व्यवस्था ।

अबदेखि नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि युएई जाँदा कल्याणकारी शुल्क र बीमा शुल्क मात्र व्यहोर्नुपर्ने । बाँकी अन्य सम्पूर्ण खर्च र कामदार पठाउने सम्बन्धित वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्कसमेत रोजगारदाताले व्यहोर्ने

श्रमिकको स्वास्थ्य परीक्षण शुल्क र सेवा शुल्कको भुक्तानी बैंकिङ माध्यमबाट सम्बन्धित नेपाली वैदेशिक रोजगार व्यवसायीलाई फिर्ता गरिने ।