काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने कुनै नैतिकता नभएको बताएका छन् ।

मंगलबार अनेरास्ववियुले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको टिप्पणीसमेत गरे । 

‘नेकपा एमालेको नवौँ महाधिवेशनले फैसला गरेको विधानमा केन्द्रीय कमिटीले विधान संशोधन गर्न सक्दैन । विधान सम्मेलनको आयोजना गर्नुपर्छ, ओलीले थपेका नक्कली केन्द्रीय सदस्य, कमिटीले हामीलाई पदाधिकारीबाट हटाउन र स्पष्टीकरण सोध्न सक्दैन ।’ रावलले भने, ‘पार्टी विधान विपरीत काम गर्ने व्यक्तिले तपाईंहरुले अनुशासन किन मान्नु भएन भनेर स्पष्टीकरण सोध्न लाज मान्नुपर्ने हो’

बरु, नेपाली जनताले ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बताए । प्रतिनिधिसभा किन विघटन गरेको ? नागरिकता ऐन पारित गर्न नदिएकोलगायतका हर्कतविरुद्ध स्पष्टीकरण सोध्नुपर्ने रावलले बताए ।