सीमामा पाहुना लाग्नेको लर्को
काठमाडौं - खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।
नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ । खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।
भारतमा काम गरेर नेपाल आउनेले समेत अहिले सहायक नाकालाई प्रयोगमा ल्याउनेगरेको सीमासँग बस्ती जोडिएका स्थानीयको दाबी छ । भारतको सीमा नजिकै आइपुगेका उनीहरूले साँझ परेपछिको मौकालाई छोप्दै सहायक नाका प्रयोग गरेर नेपाल आउने धनपालथान गाउँपालिका २ का पशुपति पासवानले जानकारी दिए । धनपालथानमा मायागञ्ज छोटी भन्सार नजिकै खयरबोना नाका हुँदै नेपाल आउने पनि दैनिक उत्तिकै हुने गरेका छन् ।
नेपाल प्रवेश गर्नेले राति समयलाई मौका मान्दै आएका छन् । जहदा गाउँपालिका ४, बुधनगरका नितेशकुमार साह सुरक्षा निकायसँग सहकार्य गरेर नेपाल प्रवेश गर्नेलाई रोक लगाउने विषयमा योजना बनाइरहेको बताए ।
मोरङको मुख्य नाका रानीसहित जहदा गाउँपालिकाको तारिगामा, मधुमल्ला, डमुरिया, धनपालथानको मायागञ्ज, खयरबोना, गडरिया, कदमाहा रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका ८, असनगढी, रतुवामाई नगरपालिकाको चुनीबारी, डोरिया, चौकीघाट र सुनवर्षी नगरपालिकाको डायनिया छोटी भन्सारसहितको आवत–जावत हुने क्षेत्रमा पर्छ ।
यीमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । सञ्चालनमा रहेका छोटी भन्सार धनपालथान गाउँपालिका ३, मायागञ्ज, रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका ८, असनगढीको डायनिया छन् । मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीले भारततिर लकडाउनका कारण ५० किलोमिटर टाढासम्म कोही पनि नागरिक नरहेको बताए । उनले पाहुना आए पनि छिमेकीले प्रहरीलाई सूचना दिने गरेको दाबी गरे।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस