काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको बैठकमा नेताहरुले यसबारे आ-आफ्नो धारणा राखेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न कोणबाट छलफल भएको छ, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारहरु सँग भने ।

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका विषयमा छलफल भएको उनले बताए । यस्तै, संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको बताइएको छ ।

पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । केन्द्रीय कमिटीका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने विषय पनि एजेन्डामा राखिएको छ। संघीय संसदका सदस्यहरूले कोभिड १९ का सन्दर्भमा बैठक भत्ता के गर्ने भन्ने विषय पनि विविध एजेन्डा अन्तर्गत छ।

बैठकका अरु एजेण्डामा छलफल गर्न भोलि १ बजे फेरि बैठक बस्ने बताइएको छ ।