काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीको संचालक पदमा उम्मेदवारी दिएका दिप प्रकाश पाण्डे र हेमन्त नाहाटाको उम्मेदवारी गैरकानुनी भएको भन्दै उम्मेदवारी खारेज गर्न माग गरि उजुरी परेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा संचालक पदमा बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ विपरित कार्य गरेको र संचालक पदमा निर्वाचनमा भाग लिएर निर्देशिकाको उलंघन भएको र सुशासन कायम नभएको भन्दै सिटिजन लाईफ इन्स्योरेन्सका संचालक  दिप प्रकाश पाण्डे र सुर्य लाइफ इन्स्योरेन्सका संचालक हेमन्त नाहाटाले बीमा समितिबाट जारी भएको “बीमकको संस्थागत सुशासन निर्देशिका २०७५” को दफा ७ को उपदफा १ को  (ङ) र (ज) अनुसार संचालक हुन अयोग्य रहेको व्यक्तिहरू पुनर्बीमा कम्पनीको संचालकमा उम्मेदवारी दिएर संस्थागत सुशासन कायम नभएको भन्दै उक्त गैरकानुनी उम्मेदवारी खारेज गर्न अनुरोध गर्दै संचालक पदको उम्मेदवार सुनिल बल्लभ पन्त र वीरेन्द्र बैदवारले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्षलाई सम्बोधन गरि निवेदन दिएका पुनर्बीमा कम्पनीले जनाएको छ ।

यस विषयमा नेपाल पुनर्बीमा कम्पनी अध्यक्ष डा. रविन्द्र घिमिरेसंग कुरा गर्दा सरोकारवाला सबैसंग छलफल गरेर निर्णय गर्ने बताए । डा. रविन्द्र घिमिरे बीमा क्षेत्रमा चर्चामा आइरहने व्यक्ति हो । घिमिरेले यस विषयलाई कसरी-कसरी हेर्ने हुन, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित परेका पुनर्बीमालाई खारेज गर्न सक्ने हो कि हैन ? समग्र बीमा क्षेत्रकै ध्यान यतिबेला घिमिरेतिर छ ।