काठमाडौं- प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत ११ गते बुधबार शपथ लिने भएका छन्।  राष्ट्रपति पौडेलले राष्ट्रपति भवन, शीतलनिवासमा बिहान ११:१५ बजे केसीलाई पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ। संसदीय परम्पराअनुसार ज्येष्ठ सदस्यलाई पहिले राष्ट्रपतिले शपथ गराउँछन्। त्यसपछि ज्येष्ठ सदस्यले अन्य सबै सांसदलाई शपथ गराउनेछन्।

धारा ९१ (५) अनुसार सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने प्रावधान छ।  यसपटकको प्रतिनिधिसभामा सबैभन्दा ज्येष्ठ सदस्य नेपाली कांग्रेसका नेता केसी हुन्। ७८ वर्षीय केसीले नै अन्य सांसदलाई शपथ गराउनेछन्। 

केसीले चैत ११ गते शपथ लिएर चैत १२ गते दिउँसो २ बजे संघीय संसद सचिवालयमा प्रतिनिधि सभाका २७५ जना सांसदहरूलाई शपथ ग्रहण गराउने छन् । त्यसको भोलिपल्ट चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले प्रधानमन्त्रीको शपथ खाने तयारी गरेका छन् । त्यसपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पहिलो बैठकले सभामुख चयनको कार्यतालिका तय गर्नेछ। सभामुख निर्वाचित भएपछि ज्येष्ठ सदस्य केसीको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।