काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने बताएका हुन् ।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीले शुक्रबार लगनखेलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले स्थानीय तहको निर्वाचन, प्रदेश तहको निर्वाचन र संघीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

प्रवक्ता ज्ञवालीले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नु छ । अबको १५/१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नु छ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ। जनादेशबाट फेरि फर्कने छौं, हामी सरकारमा। परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरि फर्कनेछौं। र, फेरि देशलाई ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौं।’