काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।

उक्त मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासमा हुने स्रोतले जनाएको छ । प्रधानन्यायाधीश राणाको इजलासले गएको दुई साताअघि कुलमान तथा त्यसअघि हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्दाको कागजात मगाएको थियो ।

साउन २२ गते आफूलाई गैर कानूनी रूपमा हटाएको दाबी गर्दै शाक्यले मन्त्रिपरिषद् कार्यालयसमेत विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । शाक्यले मन्त्रिपरिषद् र कुलमानलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । विद्युत् प्राधिकरणबाट शाक्यको बहिर्गमन उनकै चाहना अनुसार सम्मानजनक रूपमा भएको थियो ।

तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रले सरकारले आफूलाई दिने जुनसुकै जिम्मेवारी स्वीकार गर्ने बताएका थिए । जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको पद उनकै चाहनाबमोजिम सिर्जना गरिएको थियो । हितेन्द्रलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक सरहको सेवा सुविधा पनि उपलब्ध गराइएको थियो ।