काभ्रे - आइतबार बिहान सिन्धुपाल्चोकबाट कन्टेनरबाट लुकेर आएका ५० भारतीयलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उतै फिर्ता गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लुकेर आएका ५० भारतीय नागरिकलाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो। उनीहरु सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका थिए।

सिन्धुपाल्चोकको जल्केनीबाट आइतबार बिहान कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। बिहा करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो। 

ती नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार उत्रै फर्काइएको हो।  यसैबीच कोरोना भाइरसका कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीबार राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ। 

ती महिलाको कारोना भाइरसका कारण मृत्यु भएको शनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो। स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत बिहीबार राति ९:३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो।

मध्यपूर्वी पहाडबाट काठमाडौँ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन्। बिपी राजमार्ग हुँदै तराई क्षेत्रबाट प्रवेश गर्ने सवारी जाँचका लागि रोशी गाउँपालिकाको मङ्गलटारमा चाँजचौकी राखी थप कडाइ गरिएको काभ्रेपलाञ्चोक प्रशासनले जनाएको छ।