काठमाडौं - आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताको म्याद पाँच दिन थप गरेको छ ।

आयोगले यसअघि कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने जानकारी दिएको थियो । तर अब मतदाता नामावली दर्ता मंसिर ५ गतेसम्म गर्न सकिनेछ ।

प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि आयोगले दर्ता अवधि थपेको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामसाद भण्डारीसँग भएको कुराकानीमा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई सहज, समावेशी र प्रत्याभूत बनाउन दर्ता अवधि बढाउन सुझाव दिएकी थिइन् ।

यसैबीच, राष्ट्रिय परिचयपत्रका विवरणका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ता गराउन मिल्ने व्यवस्था सुरु भएलगत्तै दर्ता केन्द्रहरूमा सर्वसाधारणको चाप बढेको आयोगले जनाएको छ ।

बिहीबारदेखि मात्र अनलाइन दर्ता प्रणाली खुलेको भए पनि सेवाग्राहीको उत्साह उल्लेख्य रूपमा देखिएको छ ।

दर्ता म्याद विस्तारसँगै आगामी निर्वाचनमा सहभागी हुन चाहने मतदाताले समयमै आफ्नो नाम समावेश गराउने अवसर पाउने भएकाले आयोगले सबैलाई सहज रूपमा सेवा उपलब्ध गराउने तयारी गरेको छ ।

आयोगले दर्ता प्रक्रियामा हुने भीड व्यवस्थापनका लागि आवश्यक प्राविधिक तथा जनशक्ति समायोजन पनि गरिरहेको जनाएको छ ।