दल विभाजनसम्बन्धी अध्यादेश छिट्टै ल्याउन प्रधानमन्त्रीलाई महन्थ ठाकुरकाे आग्रह
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।प्रधानमन्त्री देउवालाई भेट्न मंगलबार बिहान ठाकुर आफ्ना पक्षका नेतालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
स्रोतका अनुसार भेटका क्रममा नेता ठाकुरले आफूहरु जसपाको आधिकारिकता नपाएपछि अप्ठेरोमा परेकोले दल विभाजनसम्बन्धी अध्यादेश ल्याइदिन प्रधानमन्त्री देउवासँग आग्रह गरेका छन् । सरकारले सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरेपछि दल विभाजन गर्न सजिलो हुनेगरी तयार राजनीतिक दलसम्बन्धी अध्यादेश आज वा भाेली नै जारी गर्ने सम्भावना देखिएको छ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको ३० दिनपछि संघीय संसद्को अधिवेशन अन्त्य भएको हाे ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ (२) अनुसार कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा त्यस्ता सदस्यसमेतले नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्यागेको नमानिने उल्लेख छ ।
तर, अध्यादेश अनुसार पार्टी फुटाएर नयाँ दल खोल्न केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा एकचौथाइ अर्थात् २५ प्रतिशत सदस्य भए पुग्ने व्यवस्था गरिएको छ। यसले पार्टीको आधिकारिकता गुमाएको ठाकुर पक्षका लागि लाभदायी हुने भएकाले अध्यादेश ल्याइदिन आग्रह गरेको स्रोतको भनाई छ । जसपाको ठाकुर महतो पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत पनि दिएकाे थियाे ।
फेसबुक पेज Like गर्नुहोस