३५ जना कोरोना संक्रमित निको भए
काठमाडौं - नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमितको संख्या २१९ पुगेको बताउँदै ३५ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । बुटवलमा उपचारका क्रममा रहेका २५ वर्षीय पुरुष र चितवनकी ६३ वर्षीया महिला डिस्चार्ज भएका हुन् ।
संक्रमित हुनेमा १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । प्रदेश अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा भने संक्रमित भेटिएका छैनन् ।
गत २४ घण्टामा २ हजार ३ सय ५७ पीसीआर र ६९२ वटा आरडीटी परीक्षण भएका छन् । प्रवक्ता डा. देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २१ हजार ३ सय ४० वटा नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ६० हजार ३ सय १९ वटा परीक्षण भएका छन् ।
देशभरिका विभिन्न क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन् । अहिले देशका विभिन्न अस्पलालमा २४५ जना शंकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा ६ जनासहित बाँकी २३९ जना बाहिर रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस