काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एंव सांसद गगन थापाले सदनको शुन्य र विशेष समयमा आफुँहरुले बोलेको कुरालाई सरकारले वेवास्ता गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् ।

आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सदनको नियममा पाँच दिनभित्र सम्बन्धित मन्त्रीले जानकारी दिनुपर्ने प्रावधान भए पनि कार्यान्वयन नभएको प्रति आक्रोश पोखे ।

उनले सदनको नियमलाई कार्यान्वयन किन नगराएको भनि प्रश्न गरेका छन् । ‘शुन्य र विशेष समयमा हामीले बोलेका कुरा शुन्यमा नै हराउने गरेको हुँदा सदन सञ्चालनको नियममा एकपटक विशेष व्यवस्था गर्दै लेख्यौं शुन्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई जानकारी गराउनु पर्नेछ । तर हामी यहाँ कुनै जानकारी पाएका छैनौं । यो नियमको कार्यान्वयन किन नभएको रु’ थापाले प्रश्न गरेका छन् ।

थापाले सांसदले आफ्नो प्रश्नको जवाफ नपाउनु सदनभित्र बोल्नु र बाहिर बोल्नुमा फरक नपरेको पनि टिप्पणी गरे । थापाले भने, ‘हामीले बोलेको कुराको जवाफ पाँच दिनभित्र प्राप्त गर्नुपर्छ ।

अन्यथा यहाँ बोल्नु र बाहिर सिंढीमा गएर बोल्नुमा केहि फरक पर्नेवाला छैन् । यहाँ समयको पावन्दी हुन्छ बाहिर जति पनि बोल्नु पाईन्छ ।’

सांसद थापाले सभामुखलाई सदनको नियमलाई कार्यान्वयन गराउन जोडदार माग गरेका छन् ।