काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका १२ जनालाई नै शुक्रबार मध्यरातमा उदयपुरबाट विराटनगर ल्याइएको छ। कोरोना पुष्टि भएपछि चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर स्थित कोरोना अस्थायी अस्पतालमा ल्याइएको हो।

कोसी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ भेटिएको थियो। सोही रिपोर्टलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत शुक्रबार पुष्टि गरेको हो।

कोरोना पुष्टि गरेपछि शुक्रबार राति करिब साढे ११ बजे नेपाल प्रहरीको स्कटिङमा सबैलाई विराटनगर ल्याइएको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे जानकारी दिए। ‘सबैलाई एम्बुलेन्समा राखेर विराटनगर ल्याइएको छ, शुक्रबार रातिबाटै अस्पतालमा राखेर रेखदेखसहित उपचार सुरु गरिएको छ,’ मन्त्री घिमिरेले भने।

नेशनल ट्रेडिङको भवनमा स्थापना गरिएको कोरोना अस्पतालमा राखिएका संक्रमित मध्ये १ नेपाली र ११ जना भारतीय नागरिक छन्। संक्रमित पुरुषहरु ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष उमेर समूहका छन्।

उदयपुरको मस्जिदमा बस्दै आएका १६ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। सँगै बसेका १६ मध्ये पुष्टि भएका १२ जनालाई मात्रै विराटनगर ल्याइएको मन्त्री घिमिरेले जानकारी दिए। सँगै बसेका तर नेगेटिभ रिपोर्ट आएका चार जनालाई उदयपुरकै क्वारेन्टाइनमा राखिएको छ। 

अन्नपूर्ण दैनिकबाट