शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयारः कार्यवाहक प्रधानमन्त्री खड्का
काठमाडौं-नेपाली कांग्रेसका उपसभापति एवम् कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्। बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका विषयमा जानकारी गराउँदै रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले अहिलेको कमजोर अर्थतन्त्रले धान्न नसक्ने र संविधानले शिक्षाका सम्बन्धमा गरेको व्यवस्था प्रतिकूल हुने विषयहरूबाहेक जुनसुकै कुरामा छलफल गर्न सरकार तयार रहेको बताए। शिक्षकहरूसँग संवाद सुरू भइसकेको र जायज मागहरू सरकारले पूरा गर्ने बताए।
‘शिक्षा क्षेत्रलाई, शिक्षकहरूको पेसागत अवस्थालाई सुधार र व्यवस्थित गर्ने कुरामा सरकारले खुला छलफल गरौँ भनेको छ। ऐनमा, नियमावलीमा, कार्यविधिमा कसरी व्यवस्था गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ? त्यसबारे छलफल गर्न सरकार तयार छ,’ खड्काले भने।
फेसबुक पेज Like गर्नुहोस