काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी सेवा नपाएका उपभोक्ताले शुल्क र जरिवाना तिर्नुनपर्ने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले शुल्क र जरिवानाबारे सम्बन्धित निकायलाई निर्देशन दिने बताएका छन् । प्रधानमन्त्री ओली अघि सोही कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नै नगरेका काठमाडौंका घरधनीले पनि शुल्क तिर्नुपरेको बताएका थिए ।

यस्ता, घरधनीबाट शुल्क नलिने व्यवस्था मिलाउन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफ दिँदै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेको अवस्थामा शुल्क वा जरिवाना तिराइनु गलत अभ्यास भएको बताए ।

यसबारेमा उनले भने, ‘यो कुरा सुन्दा अचम्ममा परेको छु । सेवा प्राप्त नगरिकन शुल्क तिर्नुपर्ने हुनै सक्दैन । यसलाई सच्याइने छ । म सबै निकायलाई भन्न चाहन्छु । सेवा नदिइ सेवा शुल्क लिन मिल्दैन । त्यसमाथि जरिवाना गर्न झन् मिल्दैन । सरकारले कमजोरी क्षमायाचना गर्नुपर्नेमा दण्डित गर्ने कुरा किमार्थ उचित हुँदैन ।’