रौतहट - रौतहटको ईशनाथ नगरपालिकामा स्थानीयवासी र प्रहरीबिच झडप भएको छ । बिहीबार  ईशनाथ नगरपालिकामा दुई जनालाई कोरोना पुष्टि भएको र उनीहरुलाई  अन्यत्र आइसोलेसनमा उपचारको लागि लैजान खोज्दा झडप भएको हो ।

कोरोना सङ्क्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान चिकित्सक र सुरक्षाकर्मी पुग्दा भएकाे वादविवादले उग्र रुप लिएको थियो ।

सङ्क्रमितहरूलाई अन्यत्र नलगेर सोही नगरपालिकाभित्र उपचार गराउनुपर्ने भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । 

ईशनाथ-७, जोकहामास्थित अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार सङ्क्रमण पुष्टि भएको थियो ।