काठमाडौं -  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमणबारे अध्ययन गर्ने भएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड-१९ का कारण मृत्यु भए नभएको थप अध्ययन भइरहेको बताएका हुन् ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट एन्टिबडी पोजेटिभ आएको थियो ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी ती महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहीबार राति नै मृत्यु भएको थियो । ९ दिन अघि त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी उनी अस्पतालबाट डिस्चार्ज भएर घर पुगेकी थिइन् ।